सवारी साधन सञ्चालनमा कडाई, यस्ता गाडी बन्द हुँदैछन्


 


काठमाडौं, साउन २३
सरकारले सवारी साधन सञ्चालनमा कडाई गर्ने भएको छ । हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको हो।

पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको छ । अन्नपूर्णमा खबर छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण परीक्षणमा अनुत्तीर्ण निजी र सार्वजनिक चारपांग्रे सवारीसाधन सञ्चालनमा भदौदेखि रोक लगाइने जानकारी दिए। इन्जिन मर्मत नगरी सञ्चालन गरिने पुराना सवारीसाधनबाट निस्कने प्रदूषण नियन्त्रण गर्न यो व्यवस्था गर्न लागिएको हो।

विभागले २०७५ वैशाख १ गतेदेखि नै प्रदूषण मापदण्डभित्र नपरेका सवारीमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो। तर, पूर्वतयारी नभएकाले ढिला भएको हो।

साउन १ गतेदेखि नै हरियो स्टिकर अनिर्वाय गर्ने तयारी गरिएको भएपनि समयमै सम्पूर्ण कार्यालयमा प्रदूषण जाँच गर्ने उपकरण पुर्‍याउन नसक्दा सफलता प्राप्त गर्न सकिएको थिएन ।

काठमाडौं उपत्यकासहित उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने चारपांग्रे सवारीसाधनले आफूलाई पायकपर्ने यातायात व्यवस्था कार्यालयमा परीक्षण गराएर हरियो स्टिकर लिनुपर्नेछ।

प्रदूषण जाँच गरेर हरियो स्टिकर प्राप्त गर्न सवारीसाधनले ३५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। जाँचमा अनुत्तीर्ण भएका तर सञ्चालनमा रहेका सवारीसाधनबाट दुई हजार रुपैयाँसम्मको जरिवाना गराउने व्यवस्था छ।

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्