अमेरिकी दुताबास अगाडि सवारी दुर्घटना, दुईको मृत्यु


 


काठमाडौँ, साउन २१
काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुघैटनामा परेर एक जना घाइते भएका छन् ।

गएराति १ः४५ बजेतिर बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भ्यानले ट्रिपरलाई ठक्कर दिँदा भ्यानमा रहेका तीन जनामध्ये थापा र सिलवालको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए ।

भ्यानका चालक सिन्धुपाल्चोकका २२ वर्षीय सुरेश पराजुली भने घाइते भएका छन् । उनको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्