प्रदेश मन्त्री कार्कीद्धारा इप्रका उर्लाबारीको निरीक्षण


 


मोरङ, साउन १९

१ नं. प्रदेश सरकारले इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्ने भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज बेलुका इप्रका उर्लाबारीको निरीक्षण गर्दै यहाँको भवन निकै जिर्ण भएको पाईएकाले यसको स्तरउन्नति वा नयाँ भवन निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

यस क्षेत्रका प्रदेश सांसद् कुशल लिम्बु, नेपाल कम्युनिष्ट पार्टीका नगर संयोजक अग्नी भट्टराई सहितको एक टोलीले मन्त्री कार्कीलाई विराटनगरस्थित मन्त्रालयमा इप्रका उर्लाबारीको अवस्थाका विषयमा जानकारी गराएपछि उहाँ आफैँ यहाँ निरीक्षण गर्न आउनु भएको हो ।

प्रदेश सरकारले प्रत्येक स्थानीय तह वा निर्वाचन क्षेत्रमा एक/एक वटा प्रहरी भवन निर्माणका लागि बजेट वितरण गरेको बताउनुहुँदै यहाँको प्रहरी कार्यालय भवन निर्माणमा पनि प्रदेश सांसद् लिम्बुसहित उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो, प्रमुख राजनीतिक पार्टीहरुसँग छलफल गरेर इप्रका उर्लाबारीको भवनलाई दिर्घकालिन सोचका साथ निर्माण अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

नगरपालिका प्रमुख फागोले इप्रका उर्लाबारीको भवन निर्माणका लागि चाँडै बजेट व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । जिल्लाको दोश्रो ठुलो शहरको रुपमा विकशित भईरहेको उर्लाबारीमा प्रहरी कार्यालय भवन नै जिर्ण रहेकाले यसको स्तरउन्नति वा नयाँ भवन निर्माणमा सहयोग गर्न प्रमुख फागोले माग गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख फागोले मन्त्री कार्कीलाई भवन स्तरउन्नतिको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले प्रहरी कार्यालयको समस्यामा विषयमा र यहाँको शान्ति सुरक्षा अवस्थाका विषयमा मन्त्री कार्कीलाई अवगत गराउनु भएको थियो

प्रकाशित मिति: १९ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्