निरु पाल ज्यान मार्ने धम्की प्रकरणः १८ घन्टामा ९० जना पक्राउ, प्रहरी भन्छ, ‘घटना गम्भीर छ’


 



काठमाडौं, साउन १८

नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ ।

बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ । नयाँ पत्रिकामा खबर छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको छ ।

डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए । उनले बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको वृत्तमै राखेर सोधपुछ भइरहेको बताए ।

अनुसन्धानका लागि सादा र पोषाक सहितका प्रहरी खटाइएको छ  । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि फिल्डमा खटिएका छन् । एसएसपी पोखरेलले घटना गम्भीर प्रकृतिको भएको र अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप नबोल्ने भनेका छन् ।
सांसद पालले धम्की दिने व्यक्तिले खोसेर लगेको भनेको आइफोनसमेत फेला परेको छैन । लुटिएको भनिएको दिनबाटै मोबाइल स्विच अफ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्