प्रश्न सोध्न नपाएको भन्दै काँग्रेसद्धारा संसद् बैठक बहिष्कार


 


काठमाडौँ, साउन १७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोेल्नुभएको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो ।

बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासाका लागि हामी समयको माग गर्दै उभिरह्याँै तर सभामुखले बेवास्ता गर्नुभयो र सदन चलाउनुभयो, पुनःहामीले नियमावलीको व्यवस्था इंगीत गरेर समय माग ग¥यौँ, त्यसपछि पनि समय नपाएपछि हामीले विरोधको सांकेतिकरुपमा सदन बहिष्कार गर्नुप¥यो ।”

“सत्तापक्षले संविधान कार्यान्वयनमा पनि चासो नलिएको आरोप लगाउँदै प्रमुख सचेतक खाँणले संविधान, ऐन कानून र संसदीय पद्धतिको पालना गर्नुपर्ने दायित्व सबैको भएको धारणा व्यक्त गर्नुभयो ।”

काँग्रेसकै नेता डा मीनेन्द्र रिजालले संसद्मा मन्त्रीका वक्तव्यको विषयवस्तुमाथि केन्द्रित रहेर प्रश्न सोध्न पाइने जानकारी दिँदै आज त्यो अधिकार कुण्ठित भएको र दलीय व्यवहार भएको आरोप लगाउनुभयो ।

“सरकार यो बाटोमा जान्छ भन्ने हाम्रो आशंकामा उहाँहरुले आज थप प्रमाण पेश गर्नुभएको छ, हामी चाहन्छौँ सत्तापक्ष सुध्रियोस्, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।”

काँग्रेस नेता डा रिजालले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भन्ने संविधानमा स्पष्ट व्यवस्था भएको र आफूहरुले उक्त विषय पटकपटक उठाउँदा पनि सत्तापक्षले ठोस सुनुवाइ नगरेको बताउनुभयो । रासस

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्