अध्यक्षमा भट्टराईको उम्मेद्वारीले व्यापारीमा उत्साह
उर्लाबारी, साउन १७
उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ ९ गते चुनावी साधारणसभा घोषणा भएसँगै चुनावी सरगर्मी सुरु भएको छ । संघको नेतृत्व चयनका लागि साझा उम्मेद्वार, लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।
संघको अध्यक्षमा साझा उम्मेद्वारबाट बर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत), स्वतन्त्रतर्फबाट पुर्व अध्यक्ष धर्मराज शाक्य र लोकतान्धिक गठबन्धनबाट पूर्व महासचिव प्रितम खड्गी चुनावी मैदानमा रहेका छन् । अघिल्लो निर्वाचनमा यीनै तिन उम्मेद्वारबीच प्रतिस्पर्धा भएको थियो जसमा चन्द्रबहादुर भट्टराई (भरत)ले बाजी मारेका थिए । भट्टराईले शाक्य र खड्गीलाई हराउँदै अध्यक्ष पदमा विजयी भएका थिए । सो निर्वाचनमा भट्टराईले ४६८ मत प्राप्त गरेका थियो भने खड्गीले ३७३ र शाक्यले १७५ मत ल्याएका थिए ।
सो समयमा भट्टराई तत्कालिन नेकपा (माओवादी) निकट चिनिएपनि स्वतन्त्र व्यापारीहरुको समर्थनमा जित हात पारेका थिए । यस पटकको निर्वाचनमा पनि भट्टराई साझा उम्मेद्वार बनेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी र राप्रपाले समर्थन गरेका छन् । भट्टराई नेकपा र राप्रपाको समर्थनमा उम्मेद्वार बनेपनि भोट माग्ने क्रममा व्यापारीहरुसँग पुग्दा सबैको साझा उम्मेद्वारको रुपमा चिनिएका छन् । अघिल्लो पटकको कार्यकालमा उर्लाबारी उद्योग बाणिज्य संघलाई नेपाल उद्योग बाणिज्य संघको सदस्य बनाएर नेपालभरि नै चिनाउन सफल भएको भन्दै उनको प्रशंसा भएको छ ।
भट्टराई नेतृत्वको साझा प्यानल भोट माग्ने क्रममा व्यापारीहरुसँग पुग्दा निकै उत्साह पाईएको बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार इन्द्र भट्टराईले बताए । संघलाई नेपाल उद्योग बाणिज्य संघको सदस्य बनाउन सफल भएको मात्र नभएर कार्यालय व्यवस्थापन गरेको, व्यापारीहरुको हितका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरबाट टोली झिकाएर कर सम्बन्धी प्रशिक्षण दिएको, नगरपालिकासँग समन्व्य गरेर मुख्य चोकमा सिसी क्यामरा जडान गरेको, व्यापारीहरुको समस्या हल गर्नमा जोड दिएको लगायतका कारणले पनि भट्टराईको उम्मेद्वारीबाट यसपटक पनि व्यापारी उत्साहित भएका छन् ।
भट्टराई नेतृत्वको साझा प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ईन्द्र भट्टराई, उद्योग उपाध्यक्षमा यामलाल रसाईली, बाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी, महासचिवमा राम थापा, बाणिज्य सचिवमा तारा श्रेष्ठ, उद्योग सचिवमा सम्झना खतिवडा (आचार्य) र कोषाध्यक्षमा सुनिल बोहराको उम्मेद्वारी घोषणा गरिएको छ । यसैगरी सदस्यहरुमा डिल्ली खतिवडा, युगल राई, यज्ञबहादुर बस्नेत, योगेन्द्र निरौला , शंकर थपलिया, लेखा संयोजकमा केदार रिजाल तथा लेखा सदस्यमा बिनिता दाहाल र जंगबहादुर कार्कीले उम्मेद्वारी दिने भएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघका मतदाताहरु रहेका नगरपालिकाभित्रका मंगलबारे, आईतबारे, मुख्य चौक, बरगाछीर दुर्गापुरी बजारमा साझा प्यानलका उम्मेदवारहरु पुग्दा व्यापारीहरुमा सकारात्मक प्रतिक्रिया पाएको लेखा संयोजक पदका उम्मेद्वार केदार रिजालले बताएका छन् ।
प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार