अधिकांश ग्यास उद्योग मापदण्ड विपरित, ज्यानकै जोखिम


 


काठमाडौं, साउन १७
मुलुकका अधिकांश ग्यास उद्योग सुरक्षामापदण्ड विपरीत रहेको पाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार मुलुकमा सञ्चालित ५९ मध्ये १२ वटा ग्यास उद्योग मात्रै मापदण्डभित्र छन्। अन्नपूर्णमा खबर छ ।

विभागका अनुसार वीरगन्जको मनोज ग्यास, काठमाडौंको नेपाल ग्यास, धादिङको श्रीकृष्ण ग्यास, मेट्रो काठमाडौं ग्यास, ओम ग्यास प्रालि र काब्सन प्रालि, नवलपरासीको जानकी ग्यास, दक्षिणकालीको एभरेस्ट ग्यास, बनेपाको गौरीशंकर ग्यास र चितवनको साइबाबाले मात्र गुणस्तर चिह्न लिएका छन् । गूणस्तर चिह्न लागू गराउन विभागले तदारुकता देखाएको छैन।

गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगलाई ६ महिना कैद, तीन हजार रुपैयाँ जरिवाना वा दुवै गर्न सकिने कानुनी व्यवस्था छ । सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्नेजस्ता घटना पटकपटक दोहोरिए पनि उद्योगले सतर्कता अपनाएका छैनन् भने अनुगमनमा सरकारी निकाय पनि उदासीन छन् ।

गत वर्ष वीरगन्जस्थित सुपर ग्यास उद्योगमा तीन जनाको ज्यान जानेगरी भएको विस्फोटपछि सरकारले नयाँ मापदण्ड बनाएर त्यस विपरीत सञ्चालित उद्योग बन्द गर्ने निर्णय गरेको थियो। दुर्घटनापछि तत्काल आक्रमक बनेको सरकार एक वर्ष बितिसक्दा समेत मापदण्ड पूरा नगर्ने कम्पनीलाई कारबाही गर्न उदासीन देखिएको छ।

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्