प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्रमा गम्भीर त्रुटी, अब के हुन्छ ?


 


काठमाडौं, साउन १६
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले दाबी गरेअनुसार उनका शैक्षिक प्रमाणपत्र फेला परेनन् । उनकै विरुद्धमा शैक्षिक प्रमाण देखिएका छन् ।

जसका कारण सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएकोजस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । नयाँ पत्रिकामा खबर छ ।

प्रधानन्यायाधीश हुनुअघि नै शैक्षिक प्रमाणपत्रदेखि फैसलासम्मका विषयमा चौतर्फी विवाद भएको भन्दै सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ ।

संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो ।

जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली
(क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । तर, उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् ।

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर, ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो ।

जन्ममितिसमेत फरक
विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिनाअघि अर्थात् २४ असोज ०११ छ ।

एउटा लेटरहेडमा विद्यालयको नाम अंग्रेजी अक्षर ‘बी’ र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यति मात्र नभई एउटै स्कुलको नाम लेटरहेडमा विजय लेख्दा एउटामा ‘बी’बाट र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यस्तै विद्यालयको नामलगत्तै एउटामा ‘को एजुकेसन’ र अर्कोमा ‘गभर्मेन्ट रेकोग्नाइज्ड‘’ भनिएको छ ।

तर, समितिको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट अस्वीकृत भए प्रस्तावित नामको व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ ।

हालको सुनुवाइ समितिमा नेकपाका नौ र फोरमका एक गरी सत्तारुढ दलको १० अर्थात् दुईतिहाइ छ । कांग्रेसका चार र राजपाबाट एकजना सुनुवाइ समितिमा सदस्य छन् ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्