मोदी फेरि नेपाल आउने


 


काठमाडौं, साउन १६
नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ ।

गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए । भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि आउने भएका हुन् । अन्नपूर्णमा खबर छ ।

सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरूको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनायो ।

काठमाडौंमा मंगलबार आयोजित नेपाल–भारत प्रबुद्ध समूहको एउटा कार्यक्रममा सहभागी भारतीय प्रबुद्ध व्यक्तिहरूले पनि आगामी महिना भारतीय प्रधानमन्त्री बिमस्टेक सम्मेलनमा नेपाल आउने बताएका थिए।

यस पटकको बिमस्टेक सम्मेलनमा नेपालले बिमस्टेक बडापत्र निर्माणमा जोड दिने स्रोतको दाबी छ। सन् १९९७ मा स्थापित बिमस्टेकको त्यसयता २० वर्षमा पनि बडापत्र तयार हुन सकेको छैन। यस पटक सम्मेलनमा बडापत्र निर्माणमा नेपालले जोड दिने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार बडापत्रले संगठनलाई बाँध्ने हुँदा आवश्यकता महसुस गरी सम्मेलनमा नेपालले बडापत्र तयार पार्न जोड गर्न लागेको हो। तीव्र गतिमा अघि बढ्न नसकेको बिमस्टेक सार्क सम्मेलन स्थगन भएसँगै सक्रिय हुन थालेको कूटनीतिज्ञहरू बताउँछन्।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्