ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी


 


काठमाडौँ, साउन १५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समिक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति बढाउन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।” उहाँले मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “अहिले हामी सक्रिय भएपछि अपराधीहरु निश्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनीहरु फेरी सक्रिय हुन्छन् । त्यसैले उनीहरुको सञ्जाल तोडिने गरी काम गर्नुहोस् ।” उहाँले यो अवधिमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्पष्ठ पार्नुभयो । रासस

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्