कविता – “आङ्पासी र आङ्पासाङ”
न्यूरोडको सुपरमार्केट
लुकुनी र दोचा भएर पस्छ झुप्राभित्र
काठ र ढुङ्गाका छाना छानाबाट,
अखण्ड, अविचलित, निश्चल
साल्पाको थाप्लोमा सजिएर
सिलिचुङको छातीमाथि
रमाइरहेका आङ्पासी र आङ्पासाङ !
गलैंचा झैं विच्छ्याइएका
पाखैभरि हरियो दुबोले ढाकिएका
यी हिमाली चउरैभरि
मगमगाइरहेका फूलहरुको प्रेम पो प्रेम
निष्कलङ्क, निस्वार्थ, निष्फिक्री,
ढुङ्गा ढुङ्गाबाट झरेका छङ्छङ् खोला,
गुराँस र चिमलको हत्केलाभरि
मुस्कुराइ रहन्छन् सुनाखरीहरु
नवआगन्तुकलाई स्वागत गर्दै,
थकित शरिर, चिटचिट पसिना
निमेशभरमै बदलिन्छन् कौमार्य फूलहरुमा
यहाँ त्यही फूल मुस्कुराउँछ
डाँफे नfच्छ, हुस्सुले म्वाईँ खान्छ
र खाइरहन्छ स्फूर्ति दिएर !
आङ्पासीले दिएको चिराइतो
मेरो प्राणको सञ्जिवनी
वनैभरि उभिएका अलैंचीका बुट्यानले
पठाउँछन् कञ्चन पानीलाई घुगुती खेलाउँदै
एक कान्ला मुनि
आङ्पासाङको मनको गरा भरिरहन,
बक्खु र लुकुनीमा सजिएका उनी
भेडी र चौंरीको घिऊ चुहाउँछन्
बेलुकीको भान्सामा
अनि ओछ्याइदिन्छन् निस्कपट मन
चिसो बलेसीमा रात कटाउन !
छोरी छ्योक्पालाई अह्राउछिन आङ्पासी
टसी देले टसी देले
त्यो कञ्चन पानीले खल्खली पखाल्न पाए
छ्योक्पाको शरिर मगमगाउँथ्यो लेकाली वनझैँ
झल्मलाउँथ्यो होला हिमालमा रवि झैँ
अलैंची र तोङ्वाको भारी डोकोभरि
पुर्याउनु छ आपालाई झिस्मिसेमै
किताबका पाना ढाकरभित्र छन् उनका
तोङ्वाको नली नै उनको कलमको नीव
जसले बनाउँछ एक रासायनिक प्रतिक्रिया
जीवन जिउने मीठो अनुभूति !
एक एक पहरा अंगालोमा अटाऊँ लाग्छ
एक एक छहरा पिएर सिध्याऊँ लाग्छ
विशाल पहराजत्रो मन बोक्ने आङ्पासाङ
पहाडजत्रै विचार बोक्ने आङ्पासी,
आहा ! कति उज्यालो त्यो हिमाल
कति बलवान त्यो खर्क
पाखैभरि पोखिऊँजस्तो
हिउँ बनेर जमिरहूँजस्तो
तर पग्लिनु पर्ने यो जिन्दगी
पानी बनेर चिप्लिन्छ सुलुलु
मन नहाँस्ने बस्तीतिर
केवल सम्झना साक्षी छ
आङ्पासी र आङ्पासाङको
फेरि पनि किस्ता किस्तामा !!
धर्म तिवारीबाट थप कविता
प्रकाशित मिति: ९ आश्विन २०७२, शनिबार