पहाडीलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग


 


काठमाडौँ, साउन १४

प्रेस चौतारी नेपालले बुधबार साप्ताहिकका सम्पादक उज्ज्वल पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरेको छ ।

आज प्रेस चौतारीका महासचिव राजेश राईले विज्ञप्ति जारी गर्दै अज्ञात व्यक्तिले दिएको ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्पादक पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गर्नुभएको हो ।

विज्ञप्तिमा पछिल्लो दिनमा पत्रकारमाथि भौतिक आक्रमण र धम्कीका घटना बढेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप तथा पत्रकारमाथि भइरहेका भौतिक आक्रमणका घटनालाई गम्भीरताको साथ लिएर निर्वाध समाचार संकलन तथा सम्प्रेषणको निम्ति वातावरण बनाउन सरकारसँग माग गरिएको छ ।

सम्पादक पहाडीलाई आज बिहान करीब १० बजे भक्तपुरबाट नयाँ बानेश्वरतर्फ आउने क्रममा जडीबुटीमा बा ७५ प ५१९ नं को बाइकमा सवार अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको जनाइएको छ । रासस

प्रकाशित मिति: १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्