नारायणगढबाट मुग्लिन सडक अब ३५ मिनेटमा पार


 


काठमाडौं, साउन १३
३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो ।

सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

विश्वबैंकको करिब ३ अर्ब ९० करोड .(३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो ।
परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ ।

राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ ।

राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए । स्तरोन्नति हुनुअघि यो दूरी पूरा गर्न एक घन्टा लाग्थ्यो ।

प्रकाशित मिति: १३ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्