आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री


 


काठमाडौँ, साउन १२

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर अभियान शुरु गरेकाले त्यसलाई आत्मसात् गरेर अगाडि बढ्न इन्जिनियरहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्र निर्माणको महाअभियान शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा र मुलुकको चाहनालाई पूरा गर्न प्राविधिक जनशक्तिको अझ बढी योगदानको खाँचो रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक रुपमा कार्यसूची सकिएपछि केही राजनीतिक शक्ति अनावश्यक बखेडा झिक्ने र सरकारलाई असफल बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेको भन्दै प्रधानमन्त्रीले गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउने छन् भन्नुभयो ।

उहाँले गलत उद्देश्यबाट निर्देशित भएर पैसा देशमा भित्रन नदिइनेसमेत स्पष्ट पार्नुभयो । ‘गलत उद्देश्यका साथ गलत बाटोबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘नेपाल भित्रिने पैसा बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।’

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नहुने र गुणस्तरियतालाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो । देश अहिले विकासको महाअभियानमा भएकाले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारलाई जनताले देश अघि बढाउने अधिकारसहितको अभिभारा सुम्पिएकाले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । रासस

प्रकाशित मिति: १२ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्