आफ्नो उम्मेद्वारी बिरुद्ध अफवाह नफैलाउन शाक्यको चेतावनी


 


उर्लाबारी,  साउन १२

आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनावी साधारणसभामा अध्यक्षको उम्मेद्वार घोषणा गर्नुभएका पूर्व अध्यक्ष धर्मराज शाक्यले आफ्नो उम्मेद्वारी बिरुद्ध अफवाह नफैलाउन चेतावनी दिएका छन् ।

शनिवार पत्रकारहरुसँग आयोजित भेटघाट कार्यक्रममा अध्यक्षका उम्मेद्वार शाक्यले आफ्नो उम्मेद्वारबाट आत्तिएर विरोधी तत्वले अफवाह फैलाएको बताएका छन् । विशेषगरी नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले धर्मराज शाक्यले अध्यक्षमा उठ्दैन, छाड्छ भनेर चोकचोक बजार बजारमा अफवाह फैलाउन थालेको भन्दै उनले गम्भिर आपत्ति जनाएका छन् । आफ्नो उम्मेद्वारबाट नआत्तिन र स्वस्थ्य प्रतिस्पर्धामा आउन शाक्यले आग्रह गरेका छन् ।

आफुले कुनै पनि हालतमा अध्यक्ष पदमा उम्मेद्वारी नछाड्ने बताउँदै शाक्यले अफवाहका पछाडी नलाग्न समस्त व्यापारी एवम् उद्योगीहरुमा आग्रह गरेका छन् । बिगतमा उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षमा रहेर आफुले गरेको कामबाट आत्तिएर विरोधीहरुले सो अफवाह फैलाएको उनले बताएका छन् । बिगतमा उर्लाबारीको उद्योग बाणिज्य संघले सञ्चालनमा ल्याएको एम्बुलेन्स समेत चलाउन नसक्नेहरु अहिले संघ चलाउँछु भन्दै उम्मेद्वारी दिन लागेका छन् भन्ने सुनेको छु , शाक्यले भने – यसबाट व्यापारीहरु सचेत हुन जरुरी छ ।

उर्लाबारी उद्योग बाणिज्य संघमा आबद्ध उद्योगी तथा व्यवसायिहरुले भोग्नु परेका समस्याको समाधान गर्न तथा उद्योगी व्यवसायिहरुको छाता सस्थाको रुपमा बिकास गर्नका लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको शाक्यले बताए ।

केही समयदेखि संस्थामा मौलाउदै गएको राजनीतिकरणलाई अन्त्य गरी व्यवस्थीत व्यवसायिक सस्थाको रुपमा बिकास गर्नेका लागि आफ्नो बलियो उम्मेद्वारी रहेको शाक्यले बताए । अहिले व्यवसायीसंगको भेटघाटलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना एजेण्डाहरु प्रस्तुत गरिरहेको बताउँदै शाक्यले विभिन्न व्यापारी साथीहरुसँग बसेर उहाँहरुको सल्लाह सुझाव लिईरहेको जानकारी दिए ।

यो चुनावी प्रचार–प्रसारको क्रममा सम्पूर्ण व्यवसायी साथीहरु मेरो उम्मेद्वारीप्रति सकारात्मक रुपमा देखिनुभएको उनले बताएका छन् । । यस संघमा जति पनि उद्यमी, व्यवसायीहरु हुनुहुन्छ उहाँहरुको न्यायीक पक्षका लागि सर्वप्रथम त मेरो उम्मेद्वारी हो । संघमा कुशल व्यवसायीक र आधुनिकिकरणको खाँचो रहेको छ । गुणस्तरियता सहितको व्यवसाय गर्न आवश्यक छ ।

व्यवसायीक एकता एवंम् संस्थागत साथै समग्र उर्लाबारीको व्यापार विकासका लागि नै मेरो उम्मेद्वारी हो, शाक्यले भने । उर्लाबारीको आर्थिक विकासका लागि स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभाका सदस्य तथा केन्द्रिय सभाका सदस्यसँग समन्वयकारी भुमिका खेल्दै व्यवसायीहरुलाई विभिन्न तालिम मार्फत क्षमता अभिवृद्धि गर्न प्रयत्नशिल रहने अध्यक्ष पदका उम्मेद्वार शाक्यले बताएका छन् ।

प्रकाशित मिति: १२ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्