सशस्त्र प्रहरी नयाँ संरचनामा, यसरी गरियो फेरबदल
काठमाडौ, साउन ११
अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचनामा गएको छ ।
उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको हो। नेपाल समाचार पत्रमा खबर छ ।
सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ ।
यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयाँ संरचनाले मजवुत बनाएको छ । प्रदेश प्रहरी र संघीय प्रहरीबीच कानुन कार्यान्वयनमा मतभेद भयो भने पनि सशस्त्र प्रहरी बलले पुलको काम गर्ने छ ।
बिगतमा एउटै जिल्लामा बिभिन्न नाममा ५ वटासम्म रहेकोमा अब भने एक मुख्य कार्यालयको मातहतमा अन्य कार्यालय रहने छन् ।
नयां संरचनामा गणपतिलाई शक्तिशाली बनाइएको छ भने यस अघि बोर्डर आउटपोष्ट (विओर्पी मा खटिने सशस्त्र प्रहरी निरीक्षकलाई प्रहरी महानिरीक्षकले खटाउने गरेकोमा अव भने जिल्लामा रहेका एसपीले नै खटाउन सक्ने भएको छ ।
नयां संरचना अनुसार सीमा सुरक्षामा थप पोष्ट तथा जनशक्ति थप गर्नु पर्ने भए जिल्ला सुरक्षा समितिको निर्णयबाट नै खटाउन सक्ने ब्यवस्था गरिएको छ ।
नयां संरचना अनुसार मुख्यालयमा तीन बिभाग रहने छन भने ७ प्रदेशमा ७ बाहिनी र उपत्यकामा १ बाहिनी रहने गरी संरचना फेरबदल गरिएको छ । मुख्यालयमा रहेका बिभागहरुमा कार्य तथा सीमा सुरक्षा बिभाग, मानव स्रोत बिभाग र सशस्त्र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान रहेका छन ।
पछिल्लो संरचनामा ३६ वटा गण, ५६ वटा गुल्म र जिल्ला सुरक्षा समितिले आवश्यकता अनुरुप विओपी बढाउन तथा घटाउन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।
आर्थिक पारदर्शिताका बारेमा पटक पटक बिवादमा पर्दै आएको सशस्त्र प्रहरी बललाई थप पारदर्शी बनाउन नयां संरचनामा तीनवटा निकायलाई छुट्टा छुट्टै महाशाखामा परिणत गरिएको छ ।
यस अघि आर्थिक प्रशासन महाशाखा अन्र्तगत प्रबन्ध शाखा र भण्डार शाखा रहने गरेकोमा अव तीनवटै शाखालाई महाशाखामा परिणत गरेर एसएसपीको दरवन्दी समेत कायम गरिएको छ ।
प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार