बाणिज्य संघको निर्वाचनका लागि साझा उम्मेद्वार घोषणा


 


मोरङ, साउन ९

आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको ३० औँ चुनावी साधारणसभाका लागि आज बिहान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा साझा उम्मेद्वार घोषणा गरिएको छ ।

उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा निर्वाचन परिचालन समितिले आयोजना गरेको उम्मेद्वार घोषणा कार्यक्रममा संघको निर्वाचनका लागि नेकपा र राप्रपा समर्थित उद्योगी एवम् व्यापारीहरुलाई समेटेर साझा उम्मेद्वार घोषणा गरिएको हो । निर्वाचन परिचालन समितिका संयोजक मनोरथ भण्डारीले बिगतमा संघमा रहेर खेलेको भूमिका, स्थानीय व्यापारीहरुको सुझाब र नगरका व्यापारीहरुका समस्या समाधान गर्ने खालका उम्मेद्वार तय गरेको बताउनुभयो ।

संघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष समेत रहनु भएका चन्द्रबहादुर भट्टराई (भरत), बरिष्ठ उपाध्यक्षमा ईन्द्र भट्टराई, बाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी, उद्योग उपाध्यक्षमा यामलाल रसाईली, महासचिवमा राम थापा, बाणिज्य सचिवमा तारा श्रेष्ठ, उद्योग सचिवमा सम्झना खतिवडा (आचार्य) र कोषाध्यक्षमा सुनिल बोहराको उम्मेद्वारी घोषणा गरिएको हो ।

यसैगरी सदस्यहरुमा डिल्ली खतिवडा, युगल राई, यज्ञबहादुर बस्नेत, योगेन्द्र निरौला, शंकर थपलिया, लेखा संयोजकमा केदार रिजाल तथा लेखा सदस्यमा बिनिता दाहाल र जंगबहादुर कार्कीको उम्मेद्वारी घोषणा गरिएको हो । कार्यक्रममा प्रदेश नं. १ का सांसद् कुशल साम्बा (लिम्बु), उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, संघका पूर्वअध्यक्ष महेन्द्रजंग तामाङ, नेपाल कम्युनिष्ट पार्टी मोरङ क्षेत्र नं. १ का संयोजक भूपाल जिमी र स्थानीय राप्रपा नेता ज्ञानेन्द्र ओलीले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

संघको निर्वाचनका लागि एक हजार ८ सय ८३ जना मतदाता रहेका छन् । संघको अध्यक्ष पदका लागि यसअघि नै नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रितम खड्गीको उम्मेद्वारी घोषणा गरेको छ भने पूर्वअध्यक्ष धर्मराज शाक्यले पनि स्वतन्त्र उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्