को बन्छ अब कानून मन्त्री ? राणालार्इ पराजित गर्ने रानाको सम्भावना प्रबल


 


काठमाडौं, साउन ८
महिलाको चरित्र हत्या हुने गरि अभिव्यक्ति दिएपछि आलोचनाको पात्र बनेका कानूनमन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिएसंगै अबको कानून मन्त्री को बन्छ भन्ने चर्चाको विषय बनेको छ ।

यही चर्चाकाबीच कानून मन्त्री बन्न लायक र योग्य व्यक्तिको खाजी हुन थालेको छ । आफूलाई कानून मन्त्री बन्ने योग्य देख्ने नेकपाका नेताहरु मन्त्रीका लागि लबिङ गर्न थालिसकेका छन् ।

सरकार गठन हुने बेला तत्कालिन नेकपा एमालेको भागमा परेको कानून मन्त्रालय अहिले पनि सोहीअनुसार अर्थात त्यही खेमाबाट आउने सम्भावना नै देखिन्छ ।

अब नेकपाबाट को मन्त्री बन्न योग्य छ र कसको चर्चा छ भन्ने विषयले चर्चा पाएको छ । यही चर्चाकाबीच प्रदेश नम्बर ७ को कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद नारदमूनि राना पनि देखिएका छन् ।

तत्कालिन प्रधानमन्त्री पत्नी आरजू राणालाई पराजित गर्दै मन्त्रीका लागि दाबेदार बनेका राना अहिले कानून मन्त्रीका प्रमुख दाबेदार मानिएका छन् । बीएलसम्मको अध्ययन र दुई वर्ष अधिवक्ता भएर काम गरिसकेका राना कानून मन्त्रीका लागि योग्य मानिएका छन् ।

आरजू राणालाई पराजित गरे लगत्तै उनी त्यतिबेलै कानून मन्त्री बन्ने आँकलन गरिएको थियो । तर, पछि त्यसले सार्थकता पाउन सकेन ।
अहिले कानून मन्त्रीको राजीनामासंगै उनको सम्भावना बलियो देखिएको पार्टी स्रोतले बताएको छ ।

यसका लागि पार्टीको शीर्ष नेतृत्व तहसंग छलफलसमेत भइरहेको जनाइएको छ । सात नम्बर प्रदेशबाट तत्कालिन एमालेबाट मन्त्री नपरेको भन्दै विरोध भइरहेका बेला यस पटक मन्त्री दिन सक्ने र त्यसका लागि रानाको नै सम्भावना देखिएको बुझिएको छ ।

सांसद राना स्रोतकाअनुसार उनी मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । पार्टीमा कानूनसंग सम्बन्धित व्यक्तिलाई नै कानून मन्त्री बनाउने कुरा उठिरहेको छ । सात नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले रानालार्इ नै मन्त्री बनाउन बलिङ गरिरहेका छन् ।

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्