दमकलाई हरित नगर बनाउन नर्सरी नै स्थापना
दमक, साउन ८
झापाको दमक नगरपालिकाले नगरलाई हरित नगर बनाउन आफ्नै व्यवस्थित नर्सरी स्थापना गरेको छ । हरित नगर कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले बन पैदावारको नर्सरी निर्माण गरि विरुवा उत्पादन शुरु गरेको हो ।
दमक–३ मा नगरपालिकाले ५ कठ्ठा जग्गा लिजमा लिएर गत चैतमा नर्सरीमा विरुवा लगाउन शुरु गरेको थियो । नर्सरीमा सिरिस, सिसौ, खयर, टिक, लटर, मलेसियन सखुवा, बगैना लगायतका विभिन्न प्रजातिका विरुवाहरु उमारिएका छन् । नर्सरी स्थापनामा जिल्ला वन कार्यालयको समेत समन्वय रहेको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो । ओलीका अनुसार नगरलाई हरित नगर बनाउन आफ्नै नर्सरी स्थापना गरि विरुवाहरु उत्पादन शुरु गरिएको बताउनु भयो ।
उहाँले तीन महिनामै कतिपय विरुवाहरु वृक्षारोपण गर्न सकिने खालको उत्पादन भईसकेको बताउनु भयो । नर्सरीमा अहिले विभिन्न जातका करिब एक लाख बिरुवा तयार भईसकेको वडाध्यक्ष नविन बराले बताउनु भयो । नर्सरी रेखदेख गर्न एक जना हेरालु समेत राखिएको छ । नर्सरी स्थापना गर्न १८ लाख २० हजार रुपैयाँ नगरपालिकाको लगानी रहेको वडाध्यक्ष बरालले बताउनु भयो ।
प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार