डा. केसीप्रति सरकार झन कठोर, सरकारप्रति आक्रामक प्रतिपक्ष


 



काठमाडौं, साउन ८
डा. गोविन्द केसीको अनशनप्रति सरकार झन कठोर बन्दै गएको छ । सरकारसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि डा. केसीको अनशनप्रति कठोर बन्दै गएका हुन् ।

नेकपाका दुबै अध्यक्षहरु केसीप्रति कडा रुपमा प्रस्तुत भएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डले सरकार र पार्टीको नीति तथा अडान प्रस्ट पारेका हुन् ।

उनीहरूले केसी राजनीतिक स्वार्थका लागि प्रयोग भइरहेको भन्दै त्यसबाट मुक्त नभएसम्म वार्ताले सार्थक रूप नलिने बताए । सरकार हदैसम्म लचकता अपनाउन तयार रहेको भएपनि केसी राजनीतिक हतियार बनेको दुबै नेताले बाए । केसीकै नाममा अराजकता स्वीकार्य नहुने उनीहरूले प्रस्ट पारे ।

स्वास्थ्य जटिल हुँदै गएपछि जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइएको भन्दै नेताहरुले केसीलाई प्रयोग गरेर राजनीतिक फाइदा लिन खोजेको बताएका छन् । उनीहरुले डा. केसीलाई स्वास्थ्य क्षेत्र सुधारका लागि खुला बहस गर्न आग्रहसमेत गरेका छन् ।

गोविन्द केसीको अनशन र सरकारको कार्यशैलीका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल कांग्रेस झनै आक्रामक बनेको छ । कांग्रेसले आफ्नो पालामा ल्याइएको अध्यादेश हुबहु ल्याउनुपर्ने माग गरेको छ ।

डा. केदारभक्त माथेमाको संयोजकत्वको उच्चस्तरीय कार्यदलको प्रतिवेदनको आधारमा जारी गरेको अध्यादेशलाई हुबहु कार्यान्वयनलाई कांग्रेसले बटमलाइन बनाएको छ । सरकारको कार्यशैलीको विरोध गर्दै कांग्रेसले सदनदेखि सडकसम्म विरोधका कार्यक्रम चलाइरहेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रधानमन्त्रीले दम्भको श्रीपेच ननिकालेसम्म अहिले देखिएका समस्या समाधान नहुने बताउँछन् । उनले दम्भको श्रीपेच नफुकालेसम्म वर्तमानमा देखिएका गोविन्द केसीका मागसहितका समस्या समाधान नुहने उनको दाबी छ ।

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्