सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री ओली


 


काठमाडौँ, साउन ८

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकाले त्यसलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो । “म कुनै पनि काम पर्दा पछाडि गर्दिन”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”

‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यको विकासमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त समारोहमा छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७४ बाट गीत रचनातर्फ ज्ञानेन्द्र गदाल तथा संगीत रचनातर्फ वसन्त क्षेत्रीलाई सम्मानित गरेको छ । सो पुरस्कारको राशि जनही रु ५० हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरियो । सो पुरस्कारको राशि ५० हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राईलाई प्रतीभा पुरस्कार प्रदान गरियो । संयुक्त रुपमा प्रदान गरिएको सो पुरस्कारको राशि क्रमशः रु ३५ हजार तथा सम्मानपत्र रहेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्