बझाङमा पहिरोको वितण्डा, एकै परिवारका तीनसहित चार जनाको मृत्यु


 


बझाङ, साउन ५
बझाङमा फेरि पहिरोमा परेर आज एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ को वयानास्थित खलेगडो भन्ने ठाउँमा पहिरो जाँदा त्यहाँ बसिरहेका चार जनाको मृत्यु भएको हो । घटनास्थल बयानाबासीको भेला भई छलफल गर्ने थलो हो ।

पहिरोमा परि मृत्यु हुनेमा पाटादेवल स्वास्थ्य चौकीमा कार्यरत महेश्वरी थापा, उनका नाबालक छोरा कृष्ण, उनकै सासुआमा उजली थापा र अर्का गाउँकै मंगल थापा रहेका छन् ।

मंगल थापाको चार महिना अघि मात्रै विवाह भएको थियो । पहिरोमा परेर मृतक महेश्वरी थापाकै अर्का छोरा रिकेश थापा र गाउँकै अर्का बालक कवि थापा गम्भिर घाइते भएका छन् ।

घटनास्थलमा ठूला–ठूला ढुङ्गासहित पहिरो खसेकाले अहिले त्यहाँ शव निकाल्ने कार्य भइरहेको स्थानीयले बताएका छन् । बझाङमा यस वर्षको वर्षातमै बाढी र पहिरोमा झण्डै एक दर्जन बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्