पर्याप्त वर्षा नहुँदा सप्तरीका किसान समस्यामा


 


सप्तरी, साउन ५

पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ ।

असार १५ गतेबाट धान रोपाइँ शुरु भए पनि आकासेपानी नपरेपछि जिल्लामा उत्साहजनक रुपमा धान रोपाइँ हुनसकेको थिएन । रोपाइँ भएका धान पनि सुक्न थालेपछि अहिले सिँचाइका लागि नहरमा पानी छाडिएको छ ।

कोशीपम्प चन्द्रनहर सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा पम्पनहर प्रणाली, वितरण नहर प्रणाली र चन्द्रनहर प्रणालीअन्तर्गतका नहर तथा उपनहरमा पानी छोडिएपछि अहिले जिल्लाका किसान धान रोपाइँमा व्यस्त भएको डिभिजन प्रमुख प्रशुन मिश्राले जानकारी दिनुभयो ।

सप्तरीमा ७० हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको छ । तीमध्ये ३५ हजार हेक्टर जमीनमा चन्द्र नहरको तीनवटै प्रणालीबाट सिँचाइ सुविधा प्राप्त भइरहेको छ । रासस

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्