तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री


 


काठमाडौँ, साउन ३

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।”

प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।”

प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गर्नुभएको छ । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गर्नुभएको थियो । रासस

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्