एक वर्षको अवधिमा पाँच सय ६९ जनाको मृत्यु


 


मोरङ, साउन ३

पूर्वका १६ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार सात सय सातवटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच सय ६९ जनाको मृत्यु भएको छ । एक हजार तीन सय ६१ गम्भीर र एक हजार छ सय ९५ जना सामान्य गरेर तीन हजार ५६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चार सय ५८ पुरुष, ६९ महिला, २८ बालक र १४ जना बालिका छन् । दुर्घटनामा ३६ चौपाय मरेका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रमुख एसपी राजकुमार लम्सालका अनुसार २०७४/०७५ मा दुर्घटनामा परेर सबै भन्दा बढी मोरङमा एक सय १३ र सबै भन्दा कम तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । सबै भन्दा बढी दुर्घटना मोरङमा र कम सोलुखुम्बुमा भएका छन् ।

एसपी लम्सालले सुनसरीमा ९६, झापामा एक सय पाँच, मोरङमा एक सय १३, सप्तरीमा ७९, सिरहामा ७१, उदयपुरमा ३५, धनकुटामा १०, तेह्रथुममा दुई, इलाममा सात, पाँचथरमा १०, ताप्लेजुङमा पाँच, भोजपुरमा चार, संखुवासभामा १३, खोटाङमा चार, ओखलढुँगामा नौ र सोलुखुम्बुमा छ जनाको दुर्घटनामा परेर मृत्यु भएको जानकारी दिनु भयो । सप्तरी र सिरहा प्रदेश २ र अन्य १४ वटा जिल्ला प्रदेश १ मा पर्छन ।

एक वर्षमा सुनसरीमा तीन सय दुई, झापामा एक सय ६९, मोरङमा पाँच सय, सप्तरीमा तीन सय एक, सिरहामा दुई सय १९, उदयपुरमा एक सय दुई , धनकुटामा ३३, तेह्रथुममा १०, इलाममा ९१, पाँचथरमा ३१, ताप्लेजुङमा १४, भोजपुरमा नौ, संखुवासभामा १७, खोटाङमा ११, ओखलढुँगामा २३ र सोलुखुम्बुमा छ वटा दुर्घटना भएका छन् । वर्ष भरीमा सबै भन्दा बढी एक हजार तीन सय दुईवटा मोटरसाइकल दुर्घटना भएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्