डा. केसीलाई लिन सेनाको हेलिकप्टर जुम्लामा, अपहरण शैली नअपनाउन केसीको चेतावनी


 


Nepal Doctors Strike

काठमाडौं, साउन ३
चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राख्दै जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेको छ ।

२० दिनदेखि अनशनमा बसेका डा. केसीलाई लिन सरकारले सेनाको हेलिकोप्टर पठाएको हो । टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहित छन् । तर, जुम्लामा केसीलाई बजरजस्ती नलिन भन्दै समर्थकहरुले अवरोध गरेका छन् ।

डा. केसीले पनि आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी दिएका छन् । उनले आफू कुनै पनि हालतमा माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन् ।

डा. केसीले माग पूरा गरे आफू अनशन तोड्न तयार रहेको बताएका छन् । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आग्रहमा सरकारले बुधबार केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्