डा. गोविन्द केसीसंगको वार्ता अवरुद्ध, सरकारले गर्यो अर्को तयारी


 


काठमाडौं, साउन ३
वार्ता अवरुद्ध भएपछि १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ।

अनशनरत डा. केसीलाई सत्याग्रहीभन्दा ‘बिरामी’का रूपमा बलजफ्ती काठमाडौं ल्याउन लागिएको भन्दै उनी पक्षधरले विरोध जनाएका छन्।

डा. केसीपक्षको वार्ता टोली सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले केसीलाई सत्याग्रहीका रूपमा नलिई बिरामीका रुपमा जबरजस्ती काठमाडौं लिन लालिएकोमा विरोध जनाए ।

डा. केसीसँग वार्ता गर्न सरकारले गठन गरेको सचिवस्तरीय टोलीले सोमबार र मंगलबार भएका तीन चरणको कुराकानीमा ‘विषय प्रवेश नै गर्न नसकेको’ भन्दै डा. केसी पक्षधर टोलीले बुधबार वार्तामा बस्न अस्वीकार गरेको थियो।

सरकारी वार्ता टोली संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले वार्ताका लागि बुधबार पनि डा. केसी पक्षधरलाई आग्रह गरेका थिए। सरकारी वार्ता टोली सदस्यमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वाथ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी छन्।

डा. केसीले जुम्लाबाट बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक ‘म्यान्डेट’ समेत नदिई कर्मचारी मात्र सम्मिलित वार्ता टोली पठाएर सरकारले झारा टार्ने काम गरेको जनाएका छन्। उनले विज्ञप्तिमार्फत तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्