पहिरोले घर बगाउँदा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित


 


पर्वत, साउन २

गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।

राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भिमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ ।

घर भत्किँदा राति सुतिरहेका छजना घाइते भएका छन् । घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन ।

स्थानीयवासीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रसलगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ । रासस

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्