नगर प्रमुख सुब्बाको पार्थिव शरीर गृहनगर ल्याइयो


 


सुनसरी, साउन १

आज दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएका धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको पार्थिव शरीर गृहनगर धरान ल्याइएको छ।

सुब्बाको पार्थिव शरीर आज साँझ हेलिकोप्टरमार्फत धरान ल्याइएको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र हेलिकोप्टर ल्याण्ड गरी प्रतिष्ठानकै मर्चरीमा उहाँको शव राखिएको छ। सुब्बाको शव धरान ल्याइएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र ठूलो संख्यामा पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको भीड लागेको छ।

धरान–११ स्थायी निवासी सुब्बाको घरमा पनि सर्वसाधारणको उल्लेख्य भीड रहेको छ। सुब्बाको निधनको खबर सार्वजनिक भएसँगै धरान उपमहानगर शोकमा डुबेको छ। धरान ११ का अधिकांश सर्वसाधारणको घरको चुल्होमा आगो नबलेको तत्कालीन नेकपा एमालेका धरान नगर सचिव राजमणी निरौलाले बताउनुभयो। सुब्बाकी श्रीमती र एक छोरा छन्।

श्रीमती हङकङमा बस्दै आएकी छन् भने छोरा धरानमै रहेका छन्। सुब्बालार्इ पार्टीमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अन्त्येष्टीका समयमा पार्टीले झण्डा ओढाउने र शवलार्इ नगरपरिक्रमा गराइने भएको सचिव निरौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्