प्रधानमन्त्रीदेखि मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका विद्यार्थीको अवस्था के छ ?


 


काठमाडौं, साउन १
अभियानको उद्घाटनमा शिक्षामन्त्रीले भर्ना गरेका बालक विद्यालयको सम्पर्कमा छैनन् । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो ।

प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।

तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने ।

उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।

‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने ।

सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन ।

स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ । नयाँ पत्रिकामा खबर छ ।

नेकपाका नेता माधवकुमार नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सैना, नेकपाका महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भने आफूले भर्ना गरेका विद्यार्थी र विद्यालयको शैक्षिक अवस्थाको बारेमा चाँसो दिइरहेका छन् ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्