उर्लाबारी क्याम्पसको आफ्नै बस
मोरङ, असार ३२
पूर्वी मोरङकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसले आफ्नै बस ल्याएको छ । सम्पूर्ण भन्सार छुटमा क्याम्स प्रमुख भीमप्रसाद लामिछानेको अगुवाईमा बस ल्याइएको हो ।
२३ लाख ५१ हजार रुपैयाँमा ५१ सिटको बस ल्याइएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । क्याम्पसले आफ्नै बस ल्याएपछि विद्यार्थीहरुलाई सहज भएको छ । विगतमा ३ वटा निजी बसको प्रयोग गरी विद्यार्थीहरु ओसार्दै आएको क्याम्पसले आफ्नै बस ल्याएपछि भाडाको दुई वटा बस हटाएको छ ।
एउटा भाडाको बसले मिक्लाजुङ आसपास क्षेत्रका विद्यार्थीहरु बोक्ने गरेको छ भने क्याम्पसको बसले उर्लाबारी हुँदै रतुवामाई नगरपालिकाका विद्यार्थीहरु ओसार्ने गरेको छ ।
२०४३ सालमा स्थापना भएको उक्त क्याम्पसमा उर्लाबारी, मिक्लाजुङ, रतुवामाई, पथरीशनिश्चरे, पाँचथर, धनकुटा, इलाम, ताप्लेजुङलगायतका करिब १ हजार १ सय विद्यार्थीहरु अध्ययरत रहेका छन् । कक्षा ११ देखि स्नाकोत्तरतहसम्म उक्त क्याम्पसमा पढाई हुने गरेको छ ।
प्रकाशित मिति: ३२ असार २०७५, सोमबार