वार्ता टोली बनाउने सरकारको तयारी


 


काठमाडौँ, असार ३२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि वार्ता टोली बनाएर समाधान गरिने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले डा गोविन्द केसीको विषयलाई लिएर आज संसद् अवरुद्ध गरेपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सो जानकारी दिनुभएको हो ।

मन्त्री पोखरेलले डा केसीका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को आजको बैठकले वार्ता कमिटी बनाउने निर्णय गर्ने जानकारी दिदैं “डा केसीको जीवन रक्षा र स्वास्थ्य उपचारका लागि सरकार गम्भीर छ, त्यस सम्बन्धमा संसद्मा बोल्न खोज्दा पनि मलाई बोल्न दिइएन,” भन्नुभयो ।

डा केसीको स्वास्थ्यमा समस्या आएको भन्ने बित्तिकै अनशनरत स्थल जुम्लाबाट उहाँलाई मेडिकल एशोसिएनशनमार्फत काठमाडौँ ल्याउन हेलिकप्टर र चिकित्सक तयारी अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले डा केसीका माग एउटा शक्तिशाली आयोग नबनाईकन समाधान नहुने हुँदा विधेयकमा एउटा शक्तिशाली आयोगको कुरा समेटिएको स्पष्ट पार्नुभयो ।

वर्षाको समयमा बाढी पहिरोले विभिन्न समस्याका साथै रोग संक्रमणसमेत हुने हुँदा यस्तो अवस्थामा सरकारी सेवामा भएका स्वास्थ्यकर्मीहरुले कुनै अस्पताल बन्द गर्न नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्