मधेस आन्दोलनमा बाबुरामले मुख खोले : हो मेरो समर्थन छ (विज्ञप्ति सहित)


 


काठमाडौं, असोज ७baburam-bhattarai

एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले मधेस केन्द्रित दलले गरिरहेको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन् । बिहीबार विज्ञप्ती जारी गर्दै भट्टराईले माओवादीले उठाउँदै आएको एजेण्डा र मधेस केन्द्रित दलको माग मिल्दोजुल्दो भएकोले आफ्नो समर्थन रहेको बताएका हुन् ।

आन्दोलनका माग जायज भएकाले तत्काल वार्ता र संवादबाट सम्बोधन गर्नुपर्ने भट्टराईको भनाइ छ । उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनद्वारा कहिल्यै पनि भएको छैन र अब पनि हुन सक्दैन । सानो घाउको उपचार बेलैमा नभएमा त्यो दुस्साध्य रोग बन्न सक्छ ।

आधा जनसंख्या बसोबास गर्ने तराई–मधेस जलिरहँदा पहाड–हिमाल चैनले सुत्न सक्दैन र हुँदैन ।’ भट्टराईले संवाद समितिको सभापतिको हैसियतले सबैलाई समेटेर लान आफूले अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

यस्तो छ भट्टराईले जारी गरेको विज्ञप्ति

संविधानसभाबाट संविधान जारी भएपछि पनि तराई–मधेस र देशका विभिन्न ठाउँहरुमा चलिरहेका आन्दोलनहरु साम्य हुनुसट्टा अझ गम्भीर र पेचिलो बन्दै जानु ठूलो चिन्ताको विषय भएको छ । विगतको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन लगायतको जनताको संघर्षको क्रममा उठेका मुद्दाहरुलाई नयाँ संविधानमा पर्याप्त रुपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको पूरै प्रक्रियामा सबै सरोकारवालाहरुलाई सहभागी गराउन नसक्नु यसको प्रमुख कारण हो । संविधानसभाको विधि र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी लोकतन्त्रको मुद्दाको प्रमुख वाहक शक्तिको नाताले हाम्रो पार्टी एनेकपा (माओवादी) र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतमा मैले अन्तिमसम्म सबै पक्षलाई समेटेर लैजाने अथक प्रयत्न गर्दागर्दै पनि त्यसमा सफल हुन नसकेकोमा गहिरो दुःख व्यक्त गर्दछु ।

प्रकाशित मिति: ७ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्