युवतीको हत्या गरी क्षतविक्षत अवस्थामा शव फेला, एक जना पक्राउ


 


भीमदत्तनगर, असार ३२
कञ्चनपुरमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको शव फेला परेको छ । युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्पर्कमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।

खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको शव भेटाएको हो।

घटनामा संलग्न भएको आरोपमा आइतबार साँझनै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ ।

त्यसैगरी केही दिनअघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका–३ का ४५ वर्षीय नैनराम सार्कीको पनि शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरे पनि घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन । सार्कीको टाउको र हातमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्