स्मार्ट लाइसेन्स नै नक्कली, यी कर्मचारी शंकाको घेरामा
काठमाडौं, असार ३१
नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ ।
नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नागरिकमा खबर छ ।
नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।
मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन् । महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए ।
नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा।५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए ।
महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो ।
प्रकाशित मिति: ३१ असार २०७५, आइतबार