मेडिकल कलेजबाट ४५० बेड ‘गायब’, काउन्सिलका दुई पूर्व रजिष्टारलाई कारबाही


 


काठमाडौं, असार ३१
नोबेल मेडिकल कलेज विराटनगरबाट ४५० बेड ‘गायब’ भएको पाइएको छ । ०६७ मा अनुगमन गर्न गएको नेपाल मेडिकल काउन्सिलको टोलीले नोबेल मेडिकल कलेज विराटनगरमा ४२० बेड रहेको प्रतिवेदन दिएको थियो । लगत्तै ६३० बेड थप्ने उधारो सर्तमा नोबेल मेडिकल कलेजलाई १५० विद्यार्थी भर्ना गर्न अनुमति दिएको थियो ।

नौ महिनापछि वैशाख ०६८ मा अनुगमन गर्न गएको काउन्सिलको टोलीले ७२१ बेड पुगेको प्रतिवेदन दिएको थियो । करिब एक वर्षपछि असार ०६९ मा गएको अर्को टोलीले अस्पतालमा नौ सय बेड पुगेको जानकारी दिएको थियो ।

तर, सात महिनापछि प्रा।डा। विमलकुमार सिन्हाको नेतृत्वमा गएको टोलीले नोबेल मेडिकल कलेजमा ४५० मात्र बेड भेट्टाएको थियो । नयाँ पत्रिकामा खबर छ ।

यसरी नोबेल मेडिकल कलेजमा सात महिनामा ४५० बेड गायब भए । मापदण्ड नपुगे पनि विद्यार्थी भर्ना गर्न र मेडिकल कलेजको नाममा व्यापार बढाउन यसरी कागजी प्रक्रिया मिलाउने गरिएको छ ।

छानबिन समितिले पूर्वाधार र अध्यापक नहुँदानहुँदै पनि जथाभावी बढाएर नोबेल मेडिकल कलेजलाई सिट दिइयो, खाने भाँडो बनाइयो, चिकित्सा शिक्षाको स्तर खसाल्ने काम गरियो, अधिकारको दुरुपयोग गरियो भनेर लगाएको आरोप आरोप पुष्टि हुन आएको छ ।

यसरी कलेज सञ्चालकको प्रलोभनमा परेर विद्यार्थीको भविष्य र जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्ने काउन्सिलका तत्कालीन रजिस्ट्रार दामोदर गजुरेललाई कम्तीमा पाँच वर्ष र नीलमणि उपाध्यायलाई जीवनभर सरकारी तथा अर्धसरकारी संस्थामा नियुक्ति हुन अयोग्य मान्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति: ३१ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्