हजको क्रममा २२० जना तीर्थयात्रीको मृत्यु


 


एजेन्सी, असोज ७

साउदी अरेबियामा भइरहेको इस्लाम धर्मावलम्बीहरुको वार्षिक हज तीर्थाटनमा भागदौड मच्चिँदा कम्तीमा दुईसय बीस जनाको ज्यान गएको छ। अन्य सयौं घाइते भएका बताइएको छ।

साउदी अधिकारीहरुका अनुसार पवित्र शहर मक्का नजीकैको मिना भन्ने स्थानमा भागदौडको क्रममा त्यस्तो दुर्घटना भएको हो। हज तीर्थाटनमा संसारभरीका २० लाख भन्दा बढी मुसलमानहरु सहभागी भइरहेका छन्।

haj saudi
यो वर्षको हज तीर्थाटनको आरम्भमा नै इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान, मक्कास्थित ठूलो मस्जीद, मा एउटा क्रेन भत्किँदा १०० जना भन्दा बढीको ज्यान गएको थियो । साउदी नागरिक प्रतिरक्षा निकायको सामाजिक सञ्जालको वेबसाइटमा राखिएका तस्वीरहरुमा पहेंलो रंगको हेलमेट लगाएका सहायताकर्मीहरुले मृतक र घाइतेहरुको हेरविचार गरिरहेका देख्‍न सकिन्छ।

धेरै मानिसको ज्यान जानेगरी भागदौड मच्चिनुको यकिन कारण हालसम्म थाहा भइसकेको छैन। तर हजका क्रममा भागदौड मच्चिने र मानिसहरुको ज्यान जाने घटना यो नै पहिलो भने होइन।

यस्तै प्रकृतिको पछिल्लो घटना घटेको भने केहि वर्ष भइसकेको छ। साउदीहरुले यस्ता दुर्घटनाहरु हुन नदिन यातायात र अन्य पूर्वाधारहरुको सुधारमा ठूलो रकम लगानी गरेका छन्।

प्रकाशित मिति: ७ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्