उर्लाबारीको बजेट ६१ करोड ७४ लाख बढी


 


(सुमन घिमिरे)
मोरङ, असार ३०

मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज दोश्रो नगर सभामार्फत रु ६१ करोड ७४ लाख ५८ हजार चालीस रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार निर्माण, सडक स्तरोन्नती, कृषिको व्यावसायिकरण, पर्यटन पर्वद्र्धन, वातावरण संरक्षण, सिमसार प्रबद्र्धन, रोजगारी, आयआर्जन, सामाजिक सुरक्षा, संस्थागत क्षमता अभिबृद्धि, सेवा प्रवाहमा प्रभावकारिता, सुशासन, सुचना प्रविधि लगायतमा बजेट विनियोजन गरेको छ ।

सभा उद्घाटन समारोहमा प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद् घनश्याम खतिवडाले स्थानीय आवश्यकताका आधारमा बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ । राजनिति पेशा नभएर सेवा हो भन्ने आत्मसातका साथ अघि बढे भ्रष्टचार ७५ प्रतिशतभन्दा बढी घट्ने उहाँले धारणा राख्नुभयो । बजेटले स्थानीय सरकारको प्रत्याभूति दिएको राय व्यक्त गर्दै सांसद खतिवडाले वडासदस्यदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि निश्पक्ष हुनुपर्ने बताउनुभयो ।

उहाँले उर्लाबारी नगर क्षेत्रमा चक्रपथ निर्माणका लागि केन्द्रीय सरकारमा प्रस्ताव पेश गर्ने आश्वासन दिनुभयो । प्रदेश सभाका सांसद् कुशल साम्बाले स्थानीयतहले कृषि र पर्यटनलाई केन्द्रमा राखेर बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रदेखी गाउँगाउँसम्म बजेट बिनियोजन हुन थालेको बताउँदै प्रदेश सांसद् साम्बाले अब समृद्धिको यात्रा सुरु भएको बताउनुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उर्लाबारीको मुख्य समस्या ढल निकाश रहेको बताउनुहुँदै उहाँले पूर्वमा मावा खोलादेखी पश्चिममा सुनझोडा खोलासम्म ड्रेन निर्माणका लागि प्रदेश र संघीय सांसद्लाई आग्रह गर्नुभयो । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सो सभामा नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष अग्नीप्रसाद भट्टराई, राप्रपाका नगर अध्यक्ष देवीप्रसाद दाहाल, नयाँ शक्तिका क्षेत्रिय संयोजक मनोहरी दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो । नगरसभाका सदस्यहरुबीच छलफल गरेर निति तथा कार्यक्रम एवम् बजेट पारित गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्