पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन


 


काठमाण्डौँ, असार ३०

पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा हिजो साँझ आलमको निधन भएको हो ।

५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उहाँलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो ।

उहाँको स्वास्थ्य अवस्था बुझ्न हिजो अस्पताल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिनुभएको थियो । तर, प्रधानमन्त्री फर्किएको केही समयपछि नै आलमको निधन भएको थियो । आलमको पार्थिव शरीरलाई आज विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले शोक वक्तव्य जारी गर्दै मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीको भनाइ छ । प्रधानमन्त्रीले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभउको छ ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्