वडाध्यक्षका छोराले गरे विद्युतका कर्मचारीमाथि हातपात, जागिर खाइदिने धम्की


 


धनगढी, असार २९
धनगढी उपमहानगरपालिका वडा नम्बर–२ पुरानो भन्सार रोड पिपल चौतारा टोलमा दुई दिनदेखि अवरुद्ध विद्युत लाइन बनाउन गएका विद्युतका कर्मचारीमाथि हातपात भएको छ ।

विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा कार्यरत सुपरभाइजर दिवस यादवमाथि आफ्नो घरको लाइन काटेको भन्दै वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर बमका छोरा द्वय विशाल र सुनिलले हातपात गर्दै जागिर खाइदिने धम्की दिएका हुन् ।

टोलको विद्युत लाइन मर्मतका क्रममा वडा नम्बर २ का अन्य ठाउँसहित वडाध्यक्ष बमको घरमा जडान गरिएको विद्युत काटिएपछि शक्तिकै आडमा कर्मचारीलाई जागिर खाने धम्की दिँदै हातपात भएको हो ।

विद्युत अवरुद्ध भएको गुनासो आएपछि विद्युत कार्यालयबाट कर्मचारीहरु रातिको समयमा खटिएका थिए । टोलमा विद्युत नभएपछि स्थानीयको आग्रहमा लाइन मर्मतका लागि आएको कर्मचारीहरुमाथि अभद्र व्यवहार भएको प्रत्यक्षदर्शी स्थानीयलेसमेत बताएका छन् ।

विद्युत लाइन मर्मतका क्रममा केही स्थानीयहरु पनि संगै रहेका थिए । घटनाबारे बताउँदै स्थानीय गणेश सिंहले विद्युत लाइन मर्मतका लागि घरमा जडान गरिएको लाइन काटिएपछि गाली गलौच र धकेलाधकेल भएको बताए ।

विद्युतको गाडीसहित रातिको समयमा लाइन मर्मत गर्न गएको टोलीमाथि शक्तिकै आडमा धम्कीसहित हातपात भएको स्थानीयले बताएका छन् । यति मात्रै होइन उनीहरुले यो समाचार बाहिर ल्याउने पत्रकारको समेत जागिर खाने धम्की दिएका थिए ।

विद्युत मर्मतका क्रममा अन्य ठाउँमा पनि लाइन काटिएको भएपनि वडाध्यक्षकै छोराहरुबाटै अभद्र व्यवहार भएको विद्युत वितरण केन्द्र धनगढीका सुपरभाइजर दिवस यादवले बताए ।

विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले कर्मचारीमाथि अभद्र व्यवहार भएको तर, हातपात भन्ने आफूलाई थाहा नभएको बताए । तर, उनले कर्मचारीमाथि त्यस्तो व्यवहार गर्नेहरुले कार्यालयमै आएर माफी मागिसकेको दाबी गरे ।

आफ्नै कर्मचारीमाथि धम्की र हातपात भएको भन्ने कुरालाई सहजै स्विकार गर्न नसकेका कार्यालय प्रमुख यादव पनि शक्तिका सामू निरिह बने । यस विषयमा वडाध्यक्ष बमलाई सम्पर्क गर्दा उनले कुरा मिलिसकेको भन्दै मिडियामा कुरा राख्न चाहेनन् ।

 

 

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्