मोरङ अदालतबाट ६० दशमलव १५ प्रतिशत मुद्धाको फैसला


 


विराटनगर, असार २७
जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४/०७५ को हालसम्म ६० दशमलव १५ प्रतिशत मुद्धाको फैसला गरेको छ । अदालतमा चालु आर्थिक वर्षमै दर्ता भएका चार हजार दुई सय ६० र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका दुई हजार दुई सय १३ मुद्धा मध्ये तीन हजार आठ सय ९४ वटा मुद्धाको फैसला भएको हो ।

जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्षमा दर्ता भएका मध्ये दुई हजार पाँच सय ७९ मुद्धाको फैसला हुन बाँकी रहेको अदालतका स्रेस्तेदार नवराज दुलालले बताउनु भयो । चालु आर्थिक वर्षमा सबै भन्दा बढी अंश सम्बन्धी मुद्धा अदालतमा दर्ता भएको छ । एक हजार ७५ मुद्धा दर्ता भएकोमा पाँच सय ८६ वटा मात्रै फर्छौट भएका छन् ।

बाँकी रहेका चार सय ८९ वटा फैसलाको चरणमा रहेका छन् । अदालतमा आठ सय ६६ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा छ सय ७७ वटाको किनारा लागिसकेको र एक सय ८९ वटा मुद्धा फैसला हुन बाँकी रहेको जानकारी दुलालले दिनु भयो । माना चामलको पनि तीन सय ५१ वटा मुद्धा मोरङ अदालतमा दर्ता भएका छन् ।

जसमा एक सय ७९ वटा माना चामल सम्बन्धी मुद्धा फैसला भइसकेका छन् । एक सय ७२ वटा फर्छौट हुन बाँकी छन् । चालु आर्थिक वर्षको हाल सम्म दर्ता भएका मध्ये लागूऔषधका दुई सय ८८, घरेलु हिंसाका ७६, जवरजस्ती करणीका एक सय ५८, मानव बेचबिखन तथा ओसारपसारका १०, अपहरण तथा शरीर बन्धकका सात, बहुविवाहका ३२ र अन्य सरकारवादी चार सय ९० वटा मुद्धा छन् ।

परेका मध्ये लागूऔषधका दुई सय २३, घरेलु हिंसाका ३७, जवरजस्ती करणीका ९६, मानव बेचबिखन तथा ओसारपसारका चार, अपहरण तथा शरीर बन्धकका दुई, बहुविवादका २१ र अन्य सरकारीवादी तीन सय ४३ मुद्धाको फैसला भएसकेको दुलालले बताउनु भयो ।

प्रकाशित मिति: २७ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्