निगममा पाइलट आवश्यक, अन्तर्राष्टिय उडान सुरू गरे ६ अर्ब आम्दानी गर्ने लक्ष्य


 


काठमाडौं, असार २७

नेपाल वायु सेवा निगमका लागि ११६ पाइलट आवश्यक पर्ने देखिएको छ ।

महाप्रबन्धक कसांकारकाअनुसार आगामी तीन साताभित्र आइपुग्ने अर्को एक वाइड बडी जहाजलाई समेत गरी त्यति संख्यामा पाइलट आवश्यक पर्नेछ । तर निगमसँग हाल ८८ पाइलट मात्रै उपलब्ध छन् ।

थप २८ पाइलट आवश्यक पर्ने भएकाले विदेशी पाइलट करारमा लिएर भए पनि सेवा दिने निगमको लक्ष्य छ । आन्तरिक उडानका लागि प्रतिपाइलट मासिक रु १२ लाख र अन्तर्राष्ट्रिय उडानका लागि रु १८ लाख तलब भत्ता उपलब्ध गराउनुपर्ने निगमको भनाइ छ ।

दुई वाइड बडी जहाजका लागि १२ पाइलट र १२ को पाइलट उपलब्ध गराउने प्रक्रिया शुरु भएको छ । यस्तै केही महिनाभित्रै छ चालक र छ सहचालक पनि तयार गर्दैछ । चिनियाँ विमान एमएम ६० को लागि चालक उपलब्ध छन् ।

यस्तै वाइ १२ जहाजका लागि चार चालक उपलब्ध छन् भने ती जहाजको सहचालक निगम भित्रैदेखि व्यवस्थापन गर्ने तयारी छ ।

वार्षिक छ अर्ब आम्दानी

निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान शुरु गरेपछि वार्षिक रु ६ अर्ब आम्दानी गर्ने लक्ष्य राखेको छ । आम्दानी बढाएर आर्थिक स्वास्थ्यसमेत मजबूत बनाउने निगमको तयारी रहेको महाप्रबन्धक कसांकारले जानकारी दिनुभयो ।

हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेको निगमले अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट सेवा दिने विमान कम्पनीको रुपमा स्तारोन्नति गर्ने लक्ष्य राखेको छ । व्यवस्थापन सुधारलाई उच्च प्राथमिकता दिने विद्युतीय माध्यमबाट ‘टिकट बुकिङ’ गर्ने प्रणालीको समेत विकास गर्न लागेको छ । रासस

प्रकाशित मिति: २७ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्