भ्रष्टाचार निमिट्यान्न पार्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली


 


काठमाडौँ, असार २५

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै त्यसलाई निमिट्यान्न पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिँदै उहाँले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न भ्रष्टाचार नियन्त्रणमा लिनुपर्ने बताउनुभयो ।

सुशासनबिना विकास सम्भव नभएको र विकासबिना समृद्धि नहुने भन्दै भ्रष्टाचार नियन्त्रण गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले संसद्का सबै सांसदको भावना भ्रष्टाचार नियन्त्रण र देशमा सुशासन कायम हुनुपर्छ भन्ने रहेको आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयमा धेरै अधिकार केन्द्रित गरिएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले ७६१ वटै सरकार र त्यसअन्तर्गतका सबै निकायलाई प्रभावकारीरुपमा सञ्चालन गरिने स्पष्ट पार्नुभयो । राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयमा बजेट बढी भयो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत १८ वटा कार्यालय रहेको र सोही कार्यालयले ती रकम खर्च गर्ने भन्दै प्रधानमन्त्री कार्यालय मितव्ययितालाई विशेष ध्यान दिने बताउनुभयो ।

अपराध गर्नेले दण्ड पाउनुपर्ने, सदाचार नीतिअनुसार काम गर्ने र अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले राम्रा काम गर्नेलाई सम्मान गर्ने र भ्रष्टाचारका विरुद्ध निर्मम हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अनुहार हेरेर काम गर्ने होइन, कानूनअनुसार काम हुन्छ, सरकार दबाब र प्रभावमा पर्दैन । औचित्यपूर्ण कार्य र सत्यमार्गमा हिँड्न सरकार दृढ छ ।”

उहाँले ६० प्रतिशत जनसंख्या क्रियाशील र त्योमध्ये २५ प्रतिशत मुलुक बाहिर जाँदा पनि देशभित्रको साधन र स्रोत प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पानी जमेको ठाउँका खाल्टा पुर्ने कार्य यथाशीघ्र पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन दिनुभयो । उहाँले उत्पादक र उपभोक्ताका बीचमा बसेर अनुचित लाभ लिनेसँग होसियार हुनुपर्नेमा जोड दिँदै त्यस्ता बिचौलियालाई नियन्त्रणमा सरकार प्रभावकारी रुपमा अघि बढ्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्