राजपा संसदीय दलको विधान टुंग्याउँदै


 


काठमाडौँ, असार २५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई भोलि मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र भोलि १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “समसामयिक राष्ट्रिय विषयमा पनि छलफल भयो । तर, औपचारिक निर्णय भने दलसम्बन्धी विधान, दलको नेता चयनलगायत सबै काम सात दिनभित्र सक्ने सहमति भएको छ ।”

राजपाले संसदीय दलको विधानलाई मंगलबार टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ । रासस

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्