अबको तीन दिन ‘देशैभर बदली र वर्षा हुने’


 


काठमाडौं, असार २५

आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे सोमबार एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औंल्याएको हो ।

सोमबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाका साथै पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यसैगरी, असार २६ गते (मंगलबार) दिउँसोको समयमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी असार २७ गते (बुधबार) पनि देशभरि नै सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।सोही दिन रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ । साथै, मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौंमा १८.३ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७०, धनगढीमा १५, डडेल्धुरामा ५ र ओखलढुंगामा ३ मिलिमिटर वर्षा भएको छ । सोमबार काठमाडौंको अधिकतम् तापक्रम २७.८ र न्यूनतम् २०.५ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्