सिँचाइ र ऊर्जाको विकास भए मात्रै देश विकासमा लम्कन्छः मन्त्री पुन


 


भक्तपुर, असार २३

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने बताउनुभएको छ ।चाँगुनारायण नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आब २०७५/७६ को नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा उहाँले सिँचाइ र ऊर्जा विकासका लगानी बढाएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मन्त्रालयले विद्युत् प्रशारण लाइनको विकास र विस्तारका लागि २० वर्षको गुरुयोजना बनाएर पेश गरेको छ, अब देशमा सिँचाइ र ऊर्जाको विकासमा देश अगाडि बढ्छ ।”

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र जनताको घरघरमा विद्युतीय चुलो र सवारी साधन पुर्याउने लक्ष्य लिएको उहाँको भनाइ थियो ।

मन्त्री पुनले भन्नुभयो, “सरकारले यसवर्ष मात्रै भारतबाट सवा खर्ब रुपैयाँभन्दा बढीका पेट्रोलियम पदार्थ आयात गरेको छ, रु २८ अर्बको मात्रै ग्याँस आयात गरेको छ, रु १८ अर्बको विद्युत् आयात गरेको छ, व्यापार घाटा मात्रै रु नौ खर्ब भएको छ, विदेशिएका नेपालीको सात अर्बभन्दा बढीको विप्रेषणले धानिरहेको छ व्यापार घाटा ।”

देशको अर्थतन्त्र भयावह रहेको भन्दै उहाँले सरकारले त्यसको अन्त्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका सरकारले अर्थतन्त्र नै भयावह हुने गरी बनाएको खाल्डो वर्तमान सरकारले पुर्छ ।” रासस

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्