बिवादास्पद काममा नफस्न मन्त्री कार्कीको सुझाब 


 


मोरङ, असार २३

१ नं. प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिहरुलाई बिवादास्पद काममा नफस्न सुझाब दिनु भएको छ ।  नगर खेलकुद विकाश समितिको आयोजनामा मोरङको उर्लाबारीमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आज समापन कार्यक्रममा बोल्नुहुँदै मन्त्री कार्कीले जनप्रतिनिधिहरु कुनै पनि बिवादमा आउनु चिन्ताको विषय भएको बताउनुभयो ।

गलत प्रबृत्ति भएका ब्यक्तिहरुले यहाँका पाकृतिक श्रोत र बनजंगल विनाशको घटनामा जनप्रतिनिधिहरुलाई बिवादको घेरामा पार्न सक्ने भन्दै यसमा सचेत रहन उहाँले सुझाब दिनुभयो । मन्त्री कार्कीले जनताको हित बिपरित हुने कुनै पनि कार्यमा संलग्न नहुन निर्देशन समेत दिनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो सधैभरी सफल भएको हेर्न चाहेको बताउनुहुँदै मन्त्री कार्कीले कुनै पनि सानातिना बिवादमा नपरी जनताको सेवामा लाग्न सुझाब दिनुभयो ।

उर्लाबारीमा भएको सोल्टी र मिक्लु खोला च्यानलाईजका विषयमा इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुखको नेतृत्वमा छानबिन समिति बनेको र त्यस छानबिन समितिले तयार पारेको प्रतिवेदनलाई सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने समेत मन्त्री कार्कीले जानकारी दिनुभयो । उर्लाबारी नगर क्षेत्रमा खेलकुदको विकाशका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको उल्लेख गर्दै मन्त्री कार्कीले यस क्षेत्रमा खेलकुद मैदान निर्माणमा सहयोग गर्ने आश्वासन दिनुभयो ।

उर्लाबारी नगरपालिकाका प्रमुख फागोले लगातारको वर्षाले उर्लाबारीका पूर्वपश्चिम राजमार्ग उत्तर र दक्षिणमा समस्या परेको अवगत गराउँदै मावा खोलादेखी सुनझोडा खोलासम्म ड्रेन निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक बजेट बिनियोजन गरिदिन मन्त्री कार्कीलाई आग्रह गर्नुभयो ।

मिक्लु र सोल्टी खोला तथा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको सिमानामा भएको रुख कटानका विषयमा आफ्नो चरित्र हत्या गर्ने काम भएको दाबी गर्दै नगर प्रमुख फागोले त्यस विषयमा सत्यसथ्य जनतासँग ल्याईदिन मन्त्री कार्कीसँग आग्रह गर्नुभयो । नगर खेलकुद विकाश समितिका अध्यक्ष भिष्मराज बुढाथोकीले स्थानीय तहमा जनप्रतिनिधिहरु आईसकेपछी खेलकुदका गतिविधिहरु तिब्र रुपमा भईरहेको भन्दै खेलकुद क्षेत्रको विकाशका लागि प्रदेश र स्थानीय तहले गम्भिर रुपमा सोच्न आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्