प्रहरी पोष्ट नजिकै लाखौंको जुवातास, प्रहरी किन बेखबर ?


 


रञ्जित लामा
धनगढी, असार २३
कैलाली–कञ्चनपुरको सीमावर्ती बजार डोकेबजारमा प्रहरी पोष्ट नजिकै दैनिक लाखौंको जुवातास हुने गरेको तथ्य बाहिरिएको छ ।

नियमित जस्तै लाखौंको जुवा तास हुने जुवाको अड्डाबाट करिब ५० मिटरकै दूरीमा कञ्चनपुरको पचगडिया प्रहरी चेक पोष्ट, सशस्त्र चेक पोष्ट र त्रिनगर प्रहरी चौकी धनगढी रहेपनि जुवातासमा कुनैपनि रोकटोक नहुने श्रोतले बताएको छ ।

श्रोतका अनुसार डोकेबजारको एक स्थानमा कार्डपत्ति र म्यारिज नामको लाखौंको जुवातास हुने गरेको प्रत्यक्षदर्र्शीको भनाई छ ।

दैनिक ५० हजार देखि एक लाखसम्मको खेल हुने श्रोतको दाबी छ । सामान्यतया चाडपर्वमा जुवातासको खालहरुमा बृद्धि हुने भएपनि यस क्षेत्रमा भने बाह्रै मासे लाखौंको जुवातास हुने नाम नबताउँने शर्तमा एक महिलाले बताईन् ।

‘प्रहरीले जुवाडेसँग पैसा असुल्ने कुरा चाहीं थाहा छैन तर प्रहरीले पैसा नअसुल्ने भए २४ सै घण्टा प्रहरीको भिड लाग्ने ठाउँमा किन त जुवाडेलाई केही नगरेका होलान् त ? एक स्थानीयले अचम्म मान्दै भने ’ पचगडी पोष्टको घुमुवा, जिल्लाको घुमुवा, सशस्त्रको घुमुवा र कैलालीदेखि कञ्चनपुरको प्रहरीको नजर रहने डोकेबजार क्षेत्रमा दिनदाहाडै लाखौंको जुवातास हुनु र प्रहरीले थाहा नपाउँनु, यो हुनै सक्तैन ।’

दैनिकी लाखौंको जुवातास खेल्ने खेलाउनाले कयौंको घरबारबिहीन भइरहेको र समाजमा चोरी डकैती, समाजिक बिकृतिसमेत बढिरहेको स्थानीय बासीहरु बताउँछन् ।

चेक पोष्टदेखि ५० मिटर परमा लाखौंको जुवातास हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरी सुरक्षाप्रति नै अहिले प्रश्न चिन्ह खडा भएको छ । जुवातासमा मिलोमतो भएको आरोप खेप्दै आएका पचगडिया प्रहरीले यतिखेर यो आरोपलाई सत्य नजिक पुर्याउँदै गएको छ ।

अपराध अनुसन्धानमा आफ्नो दक्षता र दख्खल छोड्दै आएका नेपाल प्रहरीले आफ्नै वरपर हुने लाखौंको जुवातासको अड्डा फेला पार्न नसक्नुले प्रहरी संगठनकै मानमर्दन भएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्