प्रदेश नं ४ को नाम गण्डकी


 


पोखरा, असार २२

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी राखियोस् भन्दै गर्नुभएको प्रस्ताव एवं सदस्य मणिभद्र शर्मा कंँडेल, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनलाई बहुमतले पारित गरेको हो ।

बैठकमा प्रदेशसभाका कूल ५९ सदस्यमध्ये आज उपस्थित ५६ सदस्यमध्ये गण्डकी नाम हुनुपर्ने पक्षमा ५४ जनाले मतदान गर्नुभयो भने विपक्षमा दुई मत परेको थियो ।

गण्डकी नामका पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका सदस्यले मतदान गर्नुभयो भने विपक्षमा नयाँ शक्ति पार्टीका सदस्यले मतदान गर्नुभयो ।

यसअघि प्रदेशको नामाङ्कन विषयको छलफलमा सहभागी हुँदै अधिकांश सदस्यले सबै जातजाति भाषाभाषीको पहिचान एवं भूगोललाई गण्डकीले जोड्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य एवम् प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब्बा गुरुङले सबैको अपनत्व हुने किसिमबाट प्रदेशको नाम गण्डकी राख्ने पक्षमा पुगिएको तथा भूगोल, जाति, भाषा एवम् राजनीतिक रुपले सबैभन्दा उपयुक्त नाम गण्डकी रहेको बताउनुभयो ।

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्