निर्वाचन आचारसंहिता विपरीत निर्णय खारेज गर्नु उचित : नेता नेपाल


 


विराटनगर, असार २२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्र्दै उहाँले भन्नुभयो, “तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयबाट मुलुकमा प्रणालीको विकास शुरु भएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले संक्रमणकालमा गरिने निर्णय सहमति र सहकार्यमा नगरिएकाले बहुमतको वर्तमान निर्वाचित सरकारले खारेज गरेको उल्लेख गर्दै डा गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताउनुभयो ।

राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था बन्द गर्ने र करोडौ रुपैयाँ खर्चिएर नेपाली विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने उद्देश्य राम्रो होइन भन्दै उहाँले अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न सरकारसँग वार्तामा आउन उहाँलाई आग्रह गर्नुभयो ।

नेता नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै जनताको शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिने बताउनुभयो ।

क्षणिक आवेशमा नआउन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै उहाँले प्रतिपक्षले वर्तमान सरकारलाई कार्य गर्न नदिने गरी गरिएको निर्णयले उल्टै नेपाली काँग्रेसप्रति नै जनताले आरोप लगाउने धारणा व्यक्त गर्नुभयो ।

नेता नेपालले मुलुकका गरिबी, बेरोजगारी, अभाव र पछौटेपन जस्ता समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य गरी समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ लाग्न पनि काँग्रेसलाई आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्